#

अब सवारी साधनबाट फोहरमैला फ्याक्नेलाई कडा कारबाही गरिने

२०७३ पौष ५ गते , मंगलवार

 
अब सवारी साधनबाट यात्रा गर्ने क्रममा झ्यालबाट सार्वजनिकस्थल तथा सडकहरुमा कुनै पनि प्रकारको फोहरजन्य पदार्थहरु (प्लाष्टिक बोटल, खानेकुराको अवशेष, प्लाष्टिकका झोला, कागज आदि) जथाभावी फ्याँक्न प्रतिबन्ध लगाइएको छ । 

 

जथाभावी फोहर फ्याँक्दा बाटोघाटो र सार्वजनिकस्थलमा समेत व्यापक फोहोर भई वातावरणमा समेत प्रतिकूल प्रभाव परेकोले उक्त अवस्थालाई नियन्त्रण तथा व्यवस्थापन गर्न विविध कार्यक्रमहरु संचालन शुरु भएका छन । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वीच २०७३ मंसिर १७ गते ए्उटा सहमति समेत भएको छ । 

 

उक्त सहमति बमोजिम २०७३ पौष १ गतेदेखि सार्वजनिक यातायातबाट निष्काशन हुने फोहरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न प्रत्येक सार्वजनिक यातायातका साधनमा फोहर संकलनको लागि तोकिए बमोजिम गुणस्तरको पोलिथिन थैलो वा डस्टवीन अनिवार्य रुपमा राख्ने जस्ता विषय उल्लेख गरिएका छन् । 

 

त्यस्तै यो कार्यको प्रबन्ध गर्न, सार्वजनिक यातायात छुट्नु भन्दा अगाडी सवारी चालकले यात्रुहरुलाई डष्टवीनको प्रयोग गर्न अनुरोध गरी यात्रुहरुबाट निष्काशन हुने फोहरलाई तोकिएको स्थानमा मात्र विसर्जन गर्ने व्यवस्था मिलाउन र सम्पूर्ण यातायात व्यवसायी, यात्रु महानुभावहरु लगायत सम्बन्धित सरोकारवालामा अनुरोध गर्न गत पौष १ गते एक कार्यक्रमको आयोजना गरियो ।

 

कार्यक्रम काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कमा संघीय मामिला तथा स्थानीय विकास माननीय राज्यमन्त्री श्रीप्रसाद जवेगु, सचिव केदार बहादुर अधिकारीज्यु, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणी ज्ञावलीज्यु लगातको सहभागिता थियो । 

 

त्यसैगरी काठमाडौंको रत्नपार्क र ललितपुरको लगनखेलमा समेत कार्यक्रम सम्पन्न भएको थियो । 

 

कार्यक्रममा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणी ज्ञावलीज्युले भन्नुभयो – यस व्यवस्थाको उलंघन भएमा फोहर गर्ने व्यक्ति, संस्था तथा सार्वजनिक यातायातका संचालकहरुलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम जरिवाना एवं आवश्यक कारवाही गरी सो को नामनामेसी समेत सार्वजनिक गर्ने व्यवस्था गरिने छ । यसको लागी सम्पूर्ण स्थानीय निकायहरुलाई समेत अनुरोध गर्दछु  । यस कार्यमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।