#

कार्यालय प्रमुखको भनाई

२०७३ श्रावण २७ गते , विहीवार

यसरी हुन्छ, पूर्ण सरसफाईको सार्थकता ..................

नेपाल सरकारले सन् २०१७ सम्म सम्पूर्ण जनतालाई आधारभूत स्तरको खानेपानी तथा सरसफाई सुविधा पुर्याउने लक्ष्य लिएको छ । जसमा चालु आ.व.को अन्तिमसम्म करिब ९० प्रतिशत भन्दा बढी लाई आधारभूत स्तरको खानेपानी र करिब ८० प्रतिशत भन्दा बढीमा आधारभूत सरसफाईको पहुँच पुगेको अनुमान गरिएको छ । यसै क्रममा देशका करिब ५० प्रतिशत जिल्ला खुला दिशामुक्त घोषणा भैसकेका छन । पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत फोहरमैला व्यवस्थापन पर्ने भएता पनि यो विषय ओझेलमा परेको छ । तसर्थ यस केन्द्रले सम्पूर्ण स्थानीय निकायहरुलाई आवश्यक पर्ने प्राविधक सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा फोहरमैला व्यवस्थापनको उपयुक्त प्रविधि अवलम्बन गरी एकीकृत दिगो फोहरमैला व्यवस्थापन गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ । यस केन्द्रले विगत चार वर्षदेखि सफा सहर कार्यक्रम अन्तर्गत खुल्ला दिशामुक्त घोषणा भएका नगरपालिकाहरु मध्यबाट पहिलो, दोस्रो र तेस्रो हुने नगरपालिकालाई पुरस्कार प्रदान गर्दै आएको छ । २०७० असार १२ गते सहरी विकास मन्त्रालय अन्तर्गत नेपाल सरकारबाट स्वीकृत सफा सहर कार्यक्रम (Clean City Program) घोषणाका मापदण्डका आधारमा फोहरमैलाको उचित व्यवस्थापन, खानेपानी तथा व्यवस्थित ढल प्रणाली, प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन र सहरी सौन्दर्यता प्रमुख रुपमा रहेका छन । यस कार्यक्रममा स्थानीयदेखि केन्द्रीय स्तरसम्मका सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रका संघ–संस्थाहरु कार्यरत छन । यी संस्थाहरुको कार्यशैलीमा एकरुपता नहुँदा योजना अनुरुप लक्ष्य हासिल गर्न सकिएको छैन । तसर्थ सबै संघ–संस्था लगाएत सरोकारवालाको संयुक्त प्रयासबाट मात्र लक्ष्य अनुरुपको प्रतिफल हासिल गर्न सकिने छ । सरसफाईका लागि थुप्रै अभियानमध्ये खुला दिशामुक्त, पूर्णसरसफाई अभियान, राजमार्ग लक्षित मेची–महाकाली राष्ट्रिय सरसफाई लगायतका अभियानले जनतामा जनचेतना अभिवृद्धि गराई जनसहभागिताको माध्यमबाट सरसफाईमा उल्लेखनीय सुधार भएको छ । यो पूर्ण सरसफाई अभियान आफैंमा राम्रो छ । तर फोहर व्यवस्थापन कार्य पनि राष्ट्रिय सरसफाई अभियानको अभिन्न अंग बन्न आवश्यक छ । घच् प्रवद्र्धनलाई कडा रुपमा लागू गरी घरबाट उत्पादन हुने फोहर मध्ये सड्ने र नसड्ने फोहर पृथकिकरण गरी श्रोतबाटै वर्गीकरण कार्यलाई निरन्तरता दिनु आवश्यक छ । यसो हुँदा “फोहरबाट मोहर” बनाउने र “फोहरमुक्त समाज” निर्माण गर्ने जस्ता दूरगामी महत्व बोकेका नीतिगत विषयहरु पनि प्रभावकारी हुनेछन् । आजको सन्दर्भमा पुनःप्रयोग र पुनःचक्रिय प्रयोग हुनसक्ने वस्तुहरु खेर गैरहेका छन । फोहरलाई श्रोतको रुपमा अधिकतम परिचालन गर्न सके रोजगारी सिर्जना हुनाको साथै वातावरणीय स्वच्छता कायम हुने र फोहरमैला व्यवस्थापनमा भैरहेको लगानी विकास कार्यमा लगाउन सकिनेछ । साथै सरकारले शुरु गरेको पूर्ण सरसफाई अभियानलाई दिगो फोहरमैला व्यवस्थापन अभियानसँग एकिकृत रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने नितान्त आवश्यकता देखिन्छ ।